
डोटी । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप शनिबार राति करिब १ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका–६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी), निजकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका–४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त जिप दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।
घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
