
पोखरा । पोखरामा उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत पोखराकै एक पुरुष र एक महिला तथा लमजुङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१७ का ३४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । ती पुरुषमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, पोखरा–१७ कै ६६ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ०५ः२१ बजे मृत्यु भएको छ । ती महिलामा मंसिर १५ गते कोरोना पुष्टि भएको थियो ।
मणिपाल शिक्षण अस्पताल पोखरामै उपचाररत लमजुङको बेशीसहर नगरपालिका–११ की ४३ वर्षीया महिलाको पनि मृत्यु भएको छ । मंसिर ९ गते कोरोना पुष्टि भइ उक्त अस्पताल उपचाररत ती महिलाको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।
