गोरखाको आरुघाट गाउँपालिकामा एक मोटरेवल पुल र दुई झोलुङ्गेपुलको सिलान्यास

Share:

गोरखा। गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका हुन् । पुलको शिलान्यास गर्दै मन्त्री बस्नेतले आर्खेत आसपास र उत्तरी गोरखाका जनताहरुलाई पुल निर्माणपछि सहज हुनेमात्र नभइ उत्तरी गोरखा जोड्नका लागि समेत पुलले महत्वपूर्ण भुमिका खेल्ने बताए । उत्तरी गोरखाको मनाश्लु क्षेत्र जोड्ने सडक समेत भएकाले पुलले पदमार्गमा जोडिने उत्तरी गोरखाका सर्वसाधारण, पदमार्गमा जाने पदमार्गी र उत्तरी गोरखामा ढुवानी सेवा पुर्याउन सहज हुने बताए । तिब्बत सँग जोडिएको भेग भएकाले तिब्बत सँग जोडिने मार्ग समेत पुलले सहज बनाउने उनको भनाइ रहेको थियो ।

आर्खेत खोलामा पुल नहुदा काठेपुलबाट पैदलयात्रीले आवतजावत गर्दै आएका छनभने सवारी साधनहरुभने खोलाबाटै आवतजावत हुँदै आएको छ । वर्षाको समयमा खोलामा पुल नभएको कारण सडक अवरुद्ध हुँदै आइरहेको थियो भने उत्तरी गोर्खाका खाद्यान्न लगायतका सामाग्रीहरु ढुवानी गर्न समेत अफ्ठेरो परेको छ । सो अवसरमा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दहालले पुल सिलान्यासले आरुघाट बासीमा खुसीयाली छाएको बताए । आरुघाट गाउँपालिका ४ र ५ जोड्ने आर्खेत खोलामा वर्षेनी वर्षा यामको समयमा मानिसहरुलाई आवतजावतमा समस्या परिरहेको बेला प्रदेश सरकारले पुल निर्माण गर्न लाग्दा आफुहरु निकै खुसी भएको बताउदै पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागी गाउँपालिकाले सहयोग गर्ने बताए । आर्खेत खोला पुलले उत्तरी गोर्खा र आरुघाट गाउँपालिकालाई समेत जोड्ने भएकाले पनि यसले पर्यटन, कृषि लगायतको क्षेत्रमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

आरुघाटका स्थानिय रेशम बहादुर गुरुङले आर्खेत खोलामा पुल निर्माण नहुदा दर्जनौ मानिसहरु वर्षायाममा ज्यान गुमाएको वताउदै कुनैपनि सरकारले आर्खेत खोलामा पुल हाल्ने जमर्को नगर्दा प्रदेश सरकारले पुल निर्माण थालनी गरेकोमा खुसी व्यक्त गरे । पुल निर्माण भएपछि आर्खेतबासीले वर्षायाममा झेल्दै आएको समस्याहरु समाधान भएर जाने उनको भनाइ रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी गोर्खाका जिल्ला कार्यालय सदस्य कृष्ण बहादुर नेपालीले गोर्खाली जनताले अहिले सम्म सरकारको कामको अनुभुति गर्न नसकिरहदा प्रदेश सरकारले आर्खेत खोलामा पुल निर्माण गरी सरकार विकासको काममा अगाडि रहेको छ भन्ने देखाएको बताउदै पुल निर्माणमा कुनैपनि अवरोध सिर्जना भए सर्वदलिय रुपमा समाधानका लागि आफुहरुले पहलकदमी गर्ने बताए ।

५ करोड ६५ लाख लागतमा निर्माण गर्न लागेको पुल कोभिड १९ को प्रभावका कारण सम्झौता भएको केही महिनापछि निर्माण सुरु हुन लागेको र निर्माण कम्पनी सँग समयसिमा भित्रै पुल निर्माण सम्पन्न गर्ने समेत सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख दयाराम अधिकारीले बताए । दुइ वर्षभित्र पुल निर्माण सम्मपन्न गर्ने गरी बानियाँ सूर्यविनायक जेभिले ठेक्का सम्झौता गरेको र पुल निर्माणमा स्थानिय श्रोत साधानको समेत उपयोग गर्नुपर्ने भएकाले स्थानीयहरु कुनैपनि बहानामा पुल निर्माणमा अफ्ठेरो सिर्जना नगर्न समेत स्थानियलाई उनले आग्रह गरे ।

यसैविच भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण वस्नेतले आरुघाट गाउँपालिका वडा नम्बर ३ को स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल र थुमि निबोट जोड्ने झोलुङ्गे पुलको समेत सिलान्यास गरेका छन् । स्याम्राङ र देउराली निबोट र थुमि जोड्ने पुलले एक गाउँदेखि अर्को गाउँ जानका लागि घण्टौ लाग्ने भएकाले जनताको दुखलाई मध्येनजर गरी झोलुङ्गे पुल निर्माणका लागी आफ्नो मन्त्रालयबाट बजेट विनियोजन गरेको मन्त्री बस्नेतले बताए । झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रका जनताले राहत पाउने मात्र नभइ गोर्खाकै उच्च भेगमा र अग्लो र लामो पुल भएकाले पुलमा बन्जी जम्प जस्ता साहशिक खेलको माध्यामबाट गाउँमा पर्यटन भित्रयाउन सकिने उनको भनाइ रहेको थियो ।

सो अवसरमा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दहालले आरुघाट गाउँपालिकाले उक्त पुलमा शाहसिक खेल पर्यटनका लागि समेत योजना बनाएकाले बन्जी जम्प निर्माणका लागी ठाउँ राखिदिन पुल निर्माण कम्पनी र पूर्वाधार बिकास कार्यालय गोरखालाई समेत आग्रह गरे । स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल ३ सय ४६ मिटर लामो र २ करोड १० लाख लागत लाग्ने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए त्यसैगरी थुमि निबोट झोलुङ्गेपुल ३ सय ७८ मिटर लामो हुने र लागत २ करोड ६० लाख रहेको उनको भनाइ रहेको थियो । उक्त पुलहरु गोरखामा निर्माण भइरहेको झोलुङ्गे पुलहरुमध्ये लामो हो । उक्त पुलहरु १८ महिना भित्र सकाउने गरी एस ए शैलेन्द्र जेभीले निर्माणको जिम्मा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: