
काठमाडौँ । हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज (शनिबार) मनाइँदैछ ।
त्रेता युगमा शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ ।
मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । शोभायात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।
यस वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत छोटो विधिबाट भौतिक दूरी कायम गरी मनाइने जनाइएको छ ।
