
पोखरा । मंगलबार पोखराका ३३ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ४० जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ३३ जना, स्याङ्जाका ४ जना र तनहुँका ३ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तनहुँ व्यास नगरपालिका–५ का ६४ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठान, पोखरामा उपचारका क्रममा सोमबार बेलुका ८ः२० बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरबाट थप ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना निको हुनेको संख्या १२ हजार १६६ पुगेको छ ।
हाल प्रदेशमा १ हजार ७०५ सक्रिय संक्रमित छन् ।
निर्देशनालयका अनुसार प्रदेशभरका प्रयोगशामा गत २४ घण्टामा ४९१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख १८ हजार ६७ परिक्षण भएको छ ।
