कोरोना: शनिबार पोखराका १९ सहित गण्डकीमा थप २० जनामा संक्रमण, १ को मृत्यु, १८ संक्रमणमुक्त

Share:

पोखरा । शनिबार पोखराका १९ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र तनहुँ गरी २ वटा जिल्लाका २० जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् भने तनहुँका १ जना छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ४० वर्षीय पुरुष, वडा नं. ४ का ५४ वर्षीय पुरुष, वडा नं.५ का २८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.७ का ८५ वर्षीय पुरुष, वडा नं.९ का २६ र ३५ वर्षीया महिला, वडा नं.१० का ४ वर्षीय बालक सहित २५ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.११ की ४४ वर्षीया महिला, वडा नं.१२ का ४२ वर्षीय पुरुष, वडा नं.१३ का २७ वर्षीय पुरुष, वडा नं.१६ का ७५ वर्षीय पुरुष, वडा नं.१७ का ३५ र ४४ वर्षीय पुरुष तथा ३८ र ४२ वर्षीया महिला, वडा नं.३२ की ८१ वर्षीया महिला एवं तनहुँको व्यास नगरपालिका वडा नं. १ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ९४२ पुगेको छ ।

यसैगरी शनिबार गण्डकी प्रदेशमा थप एक कारोना संक्रमितको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ की ८३ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यही पुष १४ गते कोरोना पुष्टि भइ उक्त अस्पतालमा उपचाररत ती महिलाको शनिबार बिहान ०६ः२१ बजे मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९६ पुगेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा प्रदेशभरबाट थप १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार ३ पुगेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा १४२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २२ हजार ८७६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: