पोखरामा बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ

Share:

पोखरा । पोखरामा बालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पोखरा–९ पृथ्बीचोकस्थित पोखरा मल भित्रबाट पोखरा–७ घारीपाटन निवासी रमिला पौडेलकी ५ वर्षीया छोरीले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–११ फूलबारी बस्ने २२ वर्षीया एलिसा गुरुङ र पोखरा–११ रानिपौवामा सुन पसल संचालन गर्दै आएका वर्ष ३० का विजय सुनार रहेका छन् ।

उनीहरुले यही पुस २७ गते आइतबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा पोखरा मल भित्रबाट उक्त नाबालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगी कानमा लगाएको एकजोर सुनको मुन्द्रा चोरी गरेर भागेका थिए ।

पीडितहरुले दिएको हुलियाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले एलिसालाई पोखरा–४ पालिखेचोक र विजयलाई रानिपौवाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: