
पोखरा । पोखरा महानगर शिक्षा महाशाखा र हिमालयन बुद्ध फाउण्डेसन कास्कीको सहकार्यमा पोखराका सामुदायिक विद्यालयमा कोरोना भाइरस बिरुद्ध सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बुद्ध फाउण्डेशनका अध्यक्ष तेज गुरुङले पोखरा महानगर वडा नं. १० देखि १८ सम्मका १८ वटा सामुदायिक विद्यालयलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा १ लाख ५० हजार बराबरको मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री प्रदान गरिएको हो ।
महानगर प्रमुख जिसिले कोविड १९ को जोखिम रहँदारहँदै पनि विद्यालय खोल्नु पर्ने र शैक्षिक सत्र खेर फाल्न नहुने परिस्थिति भएकोले स्वास्थ्य सुरक्षाका केही सामग्री विद्यालयलाई प्रदान गरिएको बताए । निजी विद्यालयहरु अनलाइनका माध्यमबाट सञ्चालन भएता पनि सामुदायिक विद्यालयहरुमा भने अनलाइन कक्षा सहज पहुँच नभएका कारण विद्यालय खोल्नु परेको जिसीले स्पष्ट पारे । सामुदायिक विद्यालयमा हुँदा खाने परिवारका विद्यार्थीहरुको बाहुल्यता हुने हुँदा कतिपय अवस्थामा कोरोनाको स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग नगरी विद्यालय आउन सक्ने विद्यार्थीहरु हुने र उनीहरुलाई लक्षित गरी बुद्ध फाउन्डेसनको सहकार्यमा महानगरले सो सामग्री हस्तान्तरण गरेको बताए ।
पोखरा महानगर शिक्षा महाशाखाका प्रमुख हेमराज आचार्यले सामग्री प्रदान गर्नुको उद्देश्य राख्दै सो सामग्री लक्षित वर्गका विद्यार्थीलाई मात्र प्रदान गर्न र विद्यालयका स्टाफ कर्मचारीका लागि प्रयोग नगर्न आग्रह गरे ।
कालिका मावि रामबजारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर शिक्षा अधिकृत बद्री सुवेदीले सञ्चालन गरेका थिए ।
