
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसँगै महिला लिग सुरु हुनेछ ।
उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ ।
उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् ।
पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।
एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो ।
यसपटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडीसमेत राख्न पाउनेछन् ।
प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले ८ लाख, तेस्रोले ५ लाख तथा चौथो हुनेले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।
