नेपालमा कोरोनाविरुद्धको खोप आजदेखि सुरु हुँदै

Share:

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आज (बुधबार) देखि सुरु हुँदै छ। बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश सुनाएपछि प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा बालुवाटारबाट एकैपटक तीनवटा अस्पतालबाट खोप अभियानको उद्घाटन गर्ने छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुबाट खोप अभियानको शुभारम्भ गर्ने तयारी छ। देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ।

पहिलो चरणमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका ४ लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ।

१८ वर्ष उमेर पुगेका व्यक्तिले यो खोप लगाउन मिल्ने चिकित्सकहरुले बताएका छन्।

गर्भवती, स्तन पान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका महिला तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन नमिल्ने जनाइएको छ ।

तर मुटुको रोग तथा स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्ने बताइएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको यो खोप ‘कोभिशिल्ड’ भारत सरकारले यही माघ ८ गते नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको हो ।

कमेन्ट गर्नुहोस्
Share: