
काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देशभर बिहानैदेखि देखिन थालेको छ ।
आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव समूहका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् ।
प्रहरीले बिहीबार बिहानै काठमाडौँ कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता–कार्यकर्तालाई भने पक्राउ गरेको जनाएको छ ।
यसैबिच, सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ ।
बिहीबार बिहान साढे ६ बजे काठमाडौँ–२६ आत्मज्ञानमा गुडिरहेको ट्याक्सीमा आगजनी भएको हो ।
आगलागीबाट प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बिहानै मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।
संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आम हड्तालको आह्वान गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकी थिइन् ।
