
शुक्रबार बेलुकी ७ बजेतिरको घटना हो । पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडामा आफू माथि गोली हान्यो भन्दै एक युवक चोट बोकेर प्रहरी कहाँ पुग्यो । उनको दाहिने कोखा (पेट) मा घाउको प्वाल थियो । तर, अहिले सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै जानकारी दिएको छ ।
पेटमा चोट लिएर घटनास्थलबाट मोटरसाइकलमै वडा प्रहरी कार्यालय बैदामसम्म पुगेका पर्वतको मोदि गाउँपालिका वडा नं. ८ का मनोज विश्वकर्माले आफूमाथि बन्दुक प्रहार भएको प्रहरीलाई बताएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनलाई ढिलो नगरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगेका थिए । त्यहाँ उनको रिपोर्ट ‘गनशट’ नभई गोलो आकारको धारिलो हतियारले घोचेको देखिएको डाक्टरको भनाई उदृत गर्दै डिएसपी हमालले बताए । डिएसपी हमाल राति १० बजेतिर आफै अस्पताल पुगेका थिए । अहिले घाइते बिकको अवस्था मध्यम रहेको र खतरामुक्त रहेको उनले जनाए ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालको भनाई जस्ताको तस्तै:
एक जना घाइते हुनुभएको हो । गोली चलेको पुष्टि भएको छैन । घाइतेले त बन्दुक नै हानेको भन्नुहुन्छ । आफै बाइक चढेर बैदाम प्रहरी कार्यालयसम्म पनि पुग्नुभयो । हामीले नागरिकको जिऊको सुरक्षा गर्ने पहिलो दायित्व हो । ढिला नगरी पहिले अस्पताल लग्यौं । अवस्था मध्यम छ । उहाँले गोली नै हानेको भन्नुभएपनि डाक्टर साबहरुले भने गोलीले पेट छेडिएको होइन, गनसट होइन भन्नुभएको छ । अहिले केही नलेख्नुहोला । हामी अनुसन्धानमै छौं । घटनामा संलग्नलाई खोजी कार्य सुरु भइसकेको छ ।
गण्डकी मेडिकल कलेजका डा. केशव शर्मा भन्छन्ः
पेटमा चोट छ । रिपोर्ट हेर्दा गनशट जस्तो लागेन । यदि गोली लागेको भए गोली पसेको ठाउँ सानो र निस्केको ठाउँमा ठूलो घाउ हुन्छ । धारिलो वस्तु प्रहार भएको जस्तो लाग्छ । एकातिर कोपेर अर्कोतिर निस्कने गरी हानेको जस्तो देखिन्छ । ठूलो आन्द्रा छोएको, मिर्गौलालाई असर परेको जस्तो देखिएको छ । गोलीको घाउ जस्तो लाग्दैन ।
