
पोखरा । सवारी अनुमतिपत्र लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१ घरभई हाल पोखरा–१४ चाउथे बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले रहेका छन् ।
काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखराको अमरसिंहबाट माघ २२ गते दिउँसो पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो ।
यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा फेल भएपनि सजिलै लाइसेन्स निकालिदिन्छ भन्दै विभिन्न व्यक्तिसँग उठाएको कागजात, लाइसेन्स तीन थान, विभिन्न नमूना प्रश्नपत्र, २ थान मोवाइल र नगद ८९ हजार ६२० रुपैयाँ काफ्लेको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
मेट्रो ड्राइभिङ स्कूल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका संचालक समेत रहेका काफ्लेलाई ठगी सम्बन्धी कसूर अन्तर्गत १० दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

