
काठमाडौँ । बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई उक्त प्रकरणमा संलग्नता पुष्टि भएपछि प्रहरीले आज सार्वजनिक गरेको हो ।
गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको बलात्कारपछि हत्या भएको थियो । भागरथी कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।
अभियुक्त दिनेशले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको दिनेशले बताएको प्रहरीले जनाएको छ ।
घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी पनि भएका थिए । तर, उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको भनेको थियो ।
