
काठमाडौँ । आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
जनक्रान्तिका माध्यमबाट १०४ वर्षीय जहानियाँ राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।
त्यसअघि नेपाली सेनाले आज बिहान ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको थियो । अघिल्ला वर्षहरुमा धरहराबाट बिगुल बजाउने गरिए पनि आज जंगीअड्डा र त्रिचन्द्र महांकाल हस्पिटलको भवनबाट बिगुल बजाइएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा जीवन आहुति दिएका थिए ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।
