
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार झापा र मोरङ जाँदैछन् ।
आज बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।
सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका १३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।
उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली अस्ति झापा र हिजो पोखरा पुगेका थिए ।
