
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ ।
अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन पनि भलिबल, क्रिकेट तथा टेवल टेनिसका विभिन्न विधाका खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् ।
तेस्रो दिनको खेलहरुमा भलिबल तर्फ सेमिफाईनलका खेलहरु सम्पन्न भएका छन्, स्कुल समुह ए ले कक्षा ११ विज्ञान समुहलाई २—०को सेटमा हराउदै फाईनलको यात्रा तय गरेको छ भने अर्काे सेमिफाईनल खेलमा कक्षा ११ व्यवस्थापन समुहले स्कुल समुह बि लाई २—० को सेटमा पाखा लगाउदै स्कुल ए समुह सँग फाईनलको भेट पक्का गरेको छ ।
टेबल टेनिस तर्फ सेमिफाईनलका खेलहरु मा कक्षा १० कि छात्रा अंकिता गुरुङ्गलाई हराउदै कक्षा ८ की कृपा थापा फाईनलमा पुग्न सफल भएकी छन् भने अर्का सेमिफाईनलका खेलमा कक्षा १० कि छात्रा अनुषा गौतमले वितिसा अधिकारीलाई हराउदै कृपा सँगको फाईनल भेट पक्का गरेकी छिन् । त्यस्तै छात्र तर्फ सुसिल के.सी.लाई अनुप गुरुङ्गले हराएका छन् भने अर्काे खेलमा सञ्चन क्षेष्ठले एरिक गुरुङ्गलाई हराउदै फाईनलको यात्रा तय गरेका छन् ।
क्रिकेट तर्फ भएको खेलमा स्कुल समुह कक्षा १० र कक्षा १२ व्यवस्थापन समुह बिच भएको खेलमा पहिला टस जितेर व्याटिङ्ग रोजेको स्कुल समुहले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको कक्षा १२ व्यवस्थापन समुहले बर्षात्ले प्रभावित खेलमा ७ ओभरमा ३९ रन हुदाँ ६ विकेट गुमाउन पुगेकोमा डि.एल. एस. नियमको आधारमा स्कुल समुह कक्षा १० विजय भएको थियो । उक्त खेलमा कक्षा ६ मा अध्ययन गर्ने अशोक राज तिमिल्सेनाले उत्कृष्ट बलिङ्ग गर्दै तिन विकेट लिएको विद्यालयका शिक्षक नारायण वाग्ले ले जानकारी दिएका छन् ।
खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाईने वताइएको छ । भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा सूचना प्रविधि तथा संचार संयोजक सुमन जि.सी.ले जानकारी दिएका छन् ।
खेलकुद प्रतियोगिता यहि फागुन २८ गते सम्म संचालन हुने छ ।

