सरकार र जसपाबीच आज निर्णायक वार्ता हुँदै

397
0
Share:

काठमाडौँ । सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार आज कार्यदलस्तरको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको हो ।

शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । हिजो बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको जनाइएको छ ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ । आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

जसपामा निलम्बनमा परेकाबाहेक अहिले ३२ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइराख्न एमालेबाहेक १८ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओली सकेसम्म जसपाको सिङ्गो सहयोग लिने र नसके फुटाएर भए पनि पूर्वराजपा धारलाई आफूतिर तान्ने रणनीतिमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: