
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाएका छन् ।
देउवाले शुक्रबार दिउँसो ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।
यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्दै आएको । यता अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
