पोखरा महतगौंडामा एक युवामाथि गोली प्रहार गर्ने पाण्डे पक्राउ

Share:

पोखरा । दुई महिना अघि पोखरामा एक युवामाथि गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई आइतबार कास्की प्रहरीले पक्राउ गरेको छ ।

गत माघ २३ गते पोखरा– १७ महतगौंडा (सितापाईला) मा गोली हानी फरार रहेका ४५ वर्षीय राजकिशोर पाण्डेलाई आइतबार बिहान प्रहरीले पोखरा–१ सिमपानीबाट पक्राउ गरेको हो । अभियुक्त पाण्डे बारा बरियापुर नगरपालिका– ४ पिपराबृता घर भई पर्सा वीरगञ्ज आदर्श नगरमा अस्थायी बसोबास भई पोखरामा मेटल लगायतको काम गर्दै आएका थिए ।

सोही दिन साँझ ७ बजे महतगौँडा नोलौ घुम्ती नजिक पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरा २४ पामे बस्दै आएका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएकोमा अनुसन्धान पश्चात हुलियाका आधारमा खोजतलास गर्ने क्रममा आइतबार पाण्डेलाई पोखराबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दिन आफू माथि गोली प्रहार भयो भन्दै मनोज चोट बोकेर बाइकमै बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनको दाहिने कोखा (पेट)मा अगाडिपट्टी प्वाल परी पछाडि ढाडको भागमा समेत चोट देखिएको थियो । प्रहरीले तत्कालै उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेकोमा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको एसपी श्रेष्ठले जानकारी दिए ।

घाइते बिकले दिएको हुलियाको आधारमा पाण्डेलाई मेटलको काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेको साथबाट ३ राउण्ड गोली समेत फेला पारेको छ । पाण्डे अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: