आजबाट नयाँ वर्ष २०७८ सुरु

Share:

पोखरा । विक्रम संवत अनुसार आज बुधबारबाट नयाँ वर्ष सुरु भएको छ । २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने परम्परा समेत रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा/आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: