
पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका हुन् । राजीनामा आजै स्वीकृत भइसकेको छ ।
उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्न लागेको छ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
उनीविरुद्धको अविश्वासको प्रस्ताव बारे आज हुने प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।
८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

