
पोखरा । कास्कीका ३६८ सहित गण्डकी प्रदेशमा आज आइतबार थप ५७६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका १० वटा जिल्लाका ५७६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३६८ जना छन् । तीमध्ये मादी गाउँपालिकाका ६ जना तथा अन्नपूर्ण र रुपा गाउँपालिकाका २/२ जना छन् भने अन्य ३५८ जना पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, स्याङ्जाका १०४ जना, नवलपुरका २९ जना, म्याग्दीका २३ जना, तनहुँका १४ जना, मुस्ताङका १३ जना, पर्वतका ९ जना, लमजुङका ८ जना तथा बाग्लुङ र मनाङका ४/४ जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार २२१ पुगेको छ ।
यस्तै, गएको दुई दिनमा पोखरामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ९४६ पुगेको छ ।
हाल प्रदेशभर २०४३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १८८७ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ११९० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४५ हजार ६७९ नमुना परिक्षण भएको छ ।












