मंगलबारबाट कास्कीभर पूरै लकडाउन (विज्ञप्तिसहित)

Share:

पोखरा । कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोनाको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि भोलि मंगलबारदेखि पूरै लकडाउन हुने भएको छ । कास्कीमा जारी खुकुलो निषेधाज्ञामा कडाइ गर्दै पूरै लकडाउन हुने भएको हो ।

यस अघि जिल्लामा वैशाख १५ गतेबाट २१ गते राति १२ बजे सम्म खुकुलो गरी निषेध आदेश जारी भएकोमा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्दै कास्की प्रशासनले निषेधाज्ञाको अवधि थप गरेको हो ।

प्रशासनले उक्त अवधिभर अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको हो । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ । फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू, डिपार्टमेन्टल स्टोर (खाद्यान्न मात्र) बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ ।

प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: