
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले २५ लाखको सीड मनिबाट ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।
उक्त क्षेत्रबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिँदै उनले मंगलबार विज्ञप्ति जारी गरि विचारभन्दा माथि देश र राजनीतिसँग राजकाज पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा भन्दै उनले दु:ख व्यक्त गरेका छन्। उनले भनेका छन,‘दु:खी भए पनि म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन बढी दृढ भएको जानकारी गराउन चाहन्छु।’ उनले सबै मतदाताहरूलाई धन्यवाद पनि प्रकट गरेका छन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पछि पार्दै विजयी भएका हुन्। नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल भए।
