एकजना शिक्षकको भरमा विद्यालय

Share:

स्याङ्जा :  स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका-१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एकजना शिक्षक मात्र कार्यरत छन् ।

तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहेका धनबहादुर हमालले बताए ।

उनले भने, “तीन कक्षासम्म पढाई हुन्छ । शिक्षक दरबन्दी तीन जनाको छ । तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ । दरबन्दी काटिएको पनि छैन । अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् ।

गत वर्षको कात्तिक महिनासम्म दुई शिक्षक रहेपनि एक जनाले बिरामी भएर अवकाश लिएपछि मंसिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए ।

उनले भने, “विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह-समूह बनाएर पढाउने गरेको छु । यसरी कति दिनसम्म चलाउने होला ? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन ।”

भौगोलिक रूपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएकाले  समस्या देखिएको हुनसक्ने उनको भनाइ छ । १-३ कक्षा सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल १२ छात्र/छात्रा अध्ययनरत रहेका छन् ।

उनले भने, “लामो समयसम्म शिक्षण पेसामा रहेँ, अब  अवकाश लिन खोजेको थिएँ । कस्लाई छोडेर जाउँ, यस्तै अवस्थमाा छोड्दा अस्तब्यस्त हुन्छ, त्यस्तो गर्न मनले नि मान्दैन, छोड्न नि सकिरहेको छैन ।”

कुनै काम विशेषले विद्यालयमा बिदा लिन पनि समस्या भइरहेको उनले बताए । विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमाल बताए ।

दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निक्कै समस्या आइपरेको छ । पठनपाठन कार्यमा समस्या देखिएको वालिङ-१४ का वडाध्यक्ष बोधराज कुँवरले बताए ।

यसअघि दुई  शिक्षक कार्यरत भएको उक्त विद्यालयमा एक शिक्षकले अवकास लिएपछि एकवर्षदेखि एकजना शिक्षकको भरमा विद्यालय रहेको उनले बए ।

उनले भने, “अनुगमनका क्रममा विद्यालयमा जाँदा जुन समस्या देख्यौँ त्यसको समाधानका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा पनि निकास निस्केको छैन । नगरपालिकाले दरबन्दी मिलान गरेर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ ।”

भौगोलिक विकटता र अपायक भएकाले शिक्षकहरू उक्त विद्यालयमा जान नखोज्ने भएकाले अब नाम नै किटान गरेर शिक्षक पठाउनुपर्ने उनको माग छ । भौगोलिक विकटताका कारण यहाँबाट अर्को विद्यालयमा बालबालिका पठाउन सकिने अवस्था नरहेको उनले बताए ।

वालिङ-१४ कै हुल्काङ वा भीरकोट नगरपालिका-९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ ।

उक्त विद्यालयमा बालबालिकालाई जान एक घण्टा लाग्ने उनको भनाइ छ । सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६÷६७ सम्म १-५ कक्षा सञ्चालनमा रहेको थियो । १-५ कक्षा कटौती गरि हाल १-३ कक्षामात्रै सञ्चालनमा रहेको छ ।

वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताइन् । नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उनले भनाइ छ ।

उनले भनिन्, ” विद्यार्थी सङ्ख्याको अनुपातमा कार्यविधिअनुसार दरबन्दी मिलानका लागि अहिले काम गरिरहेका छौँ । त्यसलाई अन्तिम रुप दिएर अगाडि बढ्छौँ ।”

कमेन्ट गर्नुहोस्
Share: