
कास्की : आफ्नै बुबा ५२ वर्षीय रामु क्षेत्रीलाई खुर्पा प्रहार गरी घाइते बनाएका पोखरा महानगरपालिका–१७ बिरौटाका २२ वर्षीय रविन क्षेत्री पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बि.क.का अनुसार मङ्गलवार मध्यान्ह बिरौटा गोधुली संसार पथमा बुबा रामुमाथि छोरा रविनले खुर्पा प्रहार गरेर घाइते बनाएपछि फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुँदासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएको थियो। तर उपचारकै क्रममा साँझ पाँच बजेको समयमा रामुलाई चिकित्सकले मृत घोषणा गरेका थिए। खुर्पा प्रहार गर्ने व्यक्ति फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय कास्की, सहित मातहतका प्रहरी चौकी तथा अन्य जिल्लामा समेत अभियुक्तको हुलिया हुल्ने फोटो पठाएर खोजी सुरु भएको थियो।
खोजतलासको क्रममा मङ्गलवार अपराह्न चार बजे जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले रविनलाई पक्राउ गरेको हो। उनी पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित प्रहरीको नियन्त्रणमा परेका थिए। पाल्पाबाट पक्राउ परेका उनलाई कास्की ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक बि.क.ले बताए।
