देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय

Share:

काठमाडौँ। देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १७ गतेदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो। यस वर्षको दशैँ, तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो।

बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ। बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।

उनका अनुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने र गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ।

यद्यपी अन्य कारणले कुनै बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीको बन्देज भने यथावत रहेको छ। उक्त बैठकले असोज १२ गते, शनिबारदेखि अग्रिम बुकिङ खुलाउने निर्णय समेत गरेको छ। यसरी, यहिँ शनिबारदेखि सर्वसाधारणहरूले सार्वजनिक सवारीको अग्रिम टिकट बुक गर्न सक्ने विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: