काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा बदली, ५६ जिल्ला ‘रेडअलर्ट’ मा, सर्तक रहन महाशाखाको आग्रह

Share:

काठमाडौँ। हाल उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ। पूर्वको कोशी तथा पश्चिमको सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशभरका अधिकांश ठाउँमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दा बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ। ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस् रेडअलर्ट जारी भएका ५६ जिल्लाहरु :

कोशी : झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेश: सिरहा, सप्तरी र पर्सा

बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनी: रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिम : कैलाली, डोटी र अछाम

कमेन्ट गर्नुहोस्
Share: