
काठमाडौँ। प्रतिकूल मौसमका कारण हवाई उडान क्षेत्र प्रभावित बनेको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको हो।
काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्। काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकेको र फेरी काठमाडौँ फर्किएको बताइएको छ।
यस्तै सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम खराबीका कारण बीचबाटोबाटै काठमाडौँ फर्किएको छ।
मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन्। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। काठमाडौँको आकाशमा आज बिहानैदेखि बादल लागेको छ। भने छिटपुट रुपमा बर्षा भइरहेको छ।
