पहिरोले गण्डकीका ७ सडक अवरुद्ध, निरन्तरको झरीले खुलाउन समस्या

Share:

पोखरा। निरन्तर परिरहेको झरीसँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका प्रमुख ७ वटा सडकहरु अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गण्डकी प्रदेशका ४ जिल्लाका ७ सडकहरू अवरुद्ध भएका हुन्।

सडक अवरुद्ध हुँदा पोखरा, स्याङ्जा, पर्वत लगायतका ठाउँका लागि हिडेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। शुक्रबार साझदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार बिहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ।

निरन्तरको वर्षाका कारण पहिरो खुलाउन समस्या भईरहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा गैँडाकोट नगरपालिका-२ चिहान डाँडामा रूख ढल्दा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ।

यस्तै सोही जिल्लाको बौद्धिकाली गाउँपालिका-३ जन्ती पहिरोमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर बन्द भएको बताइएको छ। यसैगरी म्याग्दीको मालिका गाउँपालिका-६ बाङगेभिर स्थित बेनी–दरबाङ सडक खण्ड पहिरो खसेर सडक अवरुद्ध छ।

म्याग्दीकै रघुगंगा गाउँपालिका-२ बैसरीमा खसेको पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ। यस्तै तनहुँ ब्यास नगरपालिका-१२ घाँसीकुवाको छिर्कनमा पहिरो खस्दा पृथ्वी राजमार्ग नै अवरुद्ध बनेको छ।

सोही जिल्लाको भानु नगरपालिका-१ रमाईलोडाँडा स्थित डुम्रे–बेसीसहर सडक खण्ड पहिरो खस्दा उक्त सडक पनि अवरुद्ध रहेको जनाइएको छ।

तनहुँकै बन्दिपुर गाउँपालिका-१ चिसापानीमा पनि पहिरो खस्दा पृथ्वी राजमार्ग नै अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेकाले पहिरो पन्छ्याउन समस्या भईरहेको कास्की प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: