
काठमाडौँ। सप्तकोशी नदीमा यस वर्ष पानीको बहाव उच्च पुगेको छ। अहिले सप्तकोशीमा खतराका तह पार गरेपछि उच्च सतर्कता अपनाउन रातो झण्डा गाडिएको छ।
शनिबार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव साँझ छ बजेको मापन अनुसार पाँच लाख ६७ हजार ७६० क्यूसेक पुगेको छ। कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ।
सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी संन १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। त्यसपछि दोस्रो पटक यस वर्ष पानीको बहाव उच्च भएको हो। पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा पाँच लाख एक हजार ७७१ क्युसेक पुगेको थियो।
खतराको तह पार गरेर ५६ वटै ढोका बिहानैदेखि खुल्ला गरेपनि निरन्तर पानीको बहाव बढिरहेको छ। जसले गर्दा कोशी ब्यारेजमा उच्च खतराका लागि रातो झण्डा गाडिएको छ।
पानीको बहाव निरन्तर बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुल भएर आउँजाउँ गर्न रोक लगाएको छ।
