आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन हुने

294
0
Share:

काठमाडौँ। काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो।

यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो। आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो।

आइएफआर विधिबाट चन्द्रगढी, विराटनगर, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान भइरहेको विमानस्थलले जनाएको छ।

अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ। यो उडानले दुई दिनदेखि गन्तव्यमा पुग्न नपाएका सयौं यात्रु लाभान्वित हुनेछन्। आन्तरिक उडान प्रभावित हुदाँ विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भीड बढेको छ।

उडान खुलेपछि ठूलो सङ्ख्यामा यात्रुहरू विमानस्थल पुगेको जनाइएको छ। प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि सबै आन्तरिक उडान स्थगित गरेको थियो।

आज दिउँसो साढे १२ बजेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो।

कमेन्ट गर्नुहोस्
Share: