
काठमाडौँ। काठमाडौँ उपत्यकामा करिब एक दर्जन पानी उद्योगले बिक्री गर्दै आएको जारको पानी उपभोग गर्न अयोग्य प्रमाणित भएको छ।
काठमाडौँ महानगरपालिकाले अनुगमन गरेर नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानिसले पिउन नहुने गुणस्तरहीन पानी उद्योगहरूले बिक्री गरेको पाइएको हो।
पानी उद्योगले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको पाइएपछि काठमाडौँ महानगरपालिकाले ११ उद्योगबाट उत्पादन हुने पानी बिक्री वितरणमा रोक लगाएको छ।
२२ वटा उद्योगको नमुना परीक्षण गरेकोमा ११ उद्योगका पानीको जारमा दिसाजन्य कोलिफर्म ब्याक्टेरिया भेटिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
केही पानी उद्योगले मानव स्वास्थ्यमा असर पर्ने गम्भीर लापरबाही गरेको महानगरपालिकाले जनाएको छ।
कोलिफर्म ब्याक्टेरियासहितको पानीले वाकवाकी लाग्ने, हैंजा, झापाडपखालालगायत समस्या आउने चिकित्सक बताउँछन्।
काठमाडौँ महानगरपालिकाले नमुना संकलन गरेका २२ मध्ये ११ ब्रान्डका पानीको नमुना प्रयोगशालामा परीक्षण गर्दा ‘फिकल कोलिफर्म’ भेटिएको हो।
यस्तै महानगरपालिकाले गुणस्तरहीन पानी बिक्री गर्ने ११ वटा उद्योगलाई उनीहरूको उत्पादनमा रोक लगाउँदै दुई/दुई लाख रूपैयाँ जरिवाना गरेको छ।
कारबाही गरिएका पानी उद्योगले फिकल कोलिफर्म शून्य देखिएपछि मात्र बिक्रीवितरण गर्न पाउने महानगरपालिकाले बताएको छ।
उपभोग गर्न योग्य नभएको पानी बिक्री वितरण गर्ने उद्योगलाई काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ बमोजिम कारबाही गरिएको महानगरपालिकाले जनाएको छ।
