
काठमाडौँ। पछिल्लो समय बजारमा लगातार गोलभेँडाको मूल्य बढिरहेको छ। कालीमाटी तरकारी बजारमा शनिबार भारतीय ठुलो गोलभेँडा प्रतिकिलो १४० देखि १६० रुपैयाँ सम्म रहेको छ। अघिल्लो शनिबार (एक साताअघि) गोलभेँडाको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको थियो।
यो भारतीय गोलभेँडा शनिबार (आज) ४२.८ प्रतिशतले बढेर औसत १५० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। सानो लोकल गोलभेँडा ९० देखि १०० रुपैयाँसम्म रहेको छ भने सानो टनेल गोलभेँडा १०० देखि १२० रुपैयाँसम्म पुगेको छ।
एक साताअघि ३१ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको सानो लोकल गोलभेँडा शनिबार २०६ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ। सानो टनेल गोलभेँडा ६० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा अहिले ८३.३३ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ।
