
पोखरा। दसैँ–तिहारको मुखैमा पटक-पटक सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक खण्ड निकै अनिश्चित र कष्टकर बनिरहेको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडक चार दिनअघि भासिएको थियो।
एक दिन एक रात पूर्ण रूपमा सवारी आवागमन बन्द गरेर मर्मत गरिएको सडक शुक्रबार रातिदेखि पुनः भासिएर अवरुद्ध बनेको हो।
हिजो रातिदेखि २० फिट लम्बाई र पाँच फिट गहिराइमा सडक भासिएर अवरुद्ध भएको सडक रातभरी मर्मत गरेर बिहानदेखि एकतर्फी सञ्चालन गरिए पनि सडक अनिश्चित बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए।
‘जहाँ भासिन्छ त्यही मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको छ, तर सडक भासिनेक्रम नरोकिएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ’, प्रहरी नायव उपरीक्षक बोहोराले भने, ‘एकैछिन खुल्छ, फेरि उतिबेलै भासिएर पूर्ण रूपमा अवरुद्ध हुन्छ।’
माटोको बेस भएकाले सडकको बेस बलियो नभएको उहाँको भनाइ छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निरन्तर सडक भासिइरहँदा पनि डाइभर्सन गर्ने ठाउँ नभएकाले समस्या भएको बताए।
