पोखराको मझेरीपाटनमा शनिबारदेखि सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

Share:

पोखरा। कास्कीमा हिन्दु नेपालीहरुको महान चाड बडादसैँको अवसरमा सेभेन ‘ए’ साइड पुरुष खुला फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटनस्थित रामेश्वरी स्कूल मैदानमा मेरो नेपाल युवा क्लबको आयोजनामा शनिबारदेखि छैटौं सेभेन ‘ए’ साइड फुटबल सुरु भएको हो।

 

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै उनले युवालाई खेलले सकारात्मक बाटोतर्फ लाग्न प्रेरित गर्ने बताए।

यस्तै गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले सबैले जीवनशैलीलाई बदल्न खेल र व्यायाम गर्नुपर्ने बताइन्। उद्घाटन सर्तमा पोखराका वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्की र १५ का तोरण बानियाँको उपस्थिति रहेको थियो।

उद्घाटन सर्तको पहिलो दिन दुई टोलीबिच प्रतिस्पर्धा भएको छ। पहिलो खेल मेरो नेपाल युवा क्लब बि र सहिद स्मृति स्कुलबिच प्रतिस्पर्धा भएको हो। मेरो नेपाल युवा क्लबले ४-० गोलले जित हात पारेको बताइएको छ।

यस्तै, दोस्रो खेल भी १४ र रामेश्वरी माविबिच प्रतिस्पर्धा भएको थियो। भी १४ले रामेश्वरी माविलाई पनि ४-० ले पराजित गरेको आयोजकले जनाएको छ।

पहिलो खेलको म्यानअर्फ द म्याच बर्मा नेपाली भएका छन् भने दोस्रो खेलको आशिष सुनार भएका हुन्। दुवै जना विजयी टोलीका खेलाडी हुन्।

प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ।

द्वितीय पुरस्कार १ लाख १ हजार एक सय ११ छ। यस्तै, प्रतियोगितामा हाई स्कोरर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने आयोजकले जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: