
कास्की : पोखरास्थित शान्ति स्तुप जाने बाटोमा ढकमक्क फुलेका फूल देख्नुभएको छ? पोखरा महानगर-२२ स्थित कोदीमा एक व्यक्तिले करिब २ किलोमिटर बाटोमा फूल रोपेर नमूना काम गरेका छन्।
स्थानीय कुल बहादुर गुरूङले विगत पाँच वर्षदेखि फुल रोप्दै आएका छन्। उनका छिमेकी संगम लामिछानेले गुरूङले लामो समयदेखि यो काम गरेको जानकारी दिए। उनले भने, ‘कोदीस्थित देविथानदेखि झण्डापार्कसम्म फूल रोप्नुभएको हो।‘
यस्तै अर्का छिमेकी दिनेश बरालले उनका तस्वीर भिडियो सार्वजनिक गर्दै भने, ‘ उहाँ एक्लैले २ किलो मिटर बाटो भरी फुल रोपेर आफ्नो ठाँउ फुलै फुलले सुन्दर र आकर्षक बनाउनु भएको छ। उहाँबाट हामी धेरैले सिक्न जरुरी छ । आफ्नो ठाउँ बनाउन पहिला मन बाट इच्छाशक्ति र सामाजिक भाव भएमा यस्तै उदाहरणीय काम गर्न सकिने रहेछ भनेर बाले प्रमाणित गर्नु भएको छ । बाप्रती उच्च सम्मान र धेरै धेरै धन्यवाद।‘
यस्तै गुरुङले बुढेसकालको सम्झनाका लागि आफूले फूल रोपेको बताए। ‘फूलले वातावरणलाई सुन्दर बनाउँछ। मलाई फूलैफूलको दुनियाँ सुन्दर लाग्छ।‘
तस्वीर सौजन्य : दिनेश बराल







