
पोखरा। नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा दोस्रो गण्डकी प्रदेश महोत्सव-२०८१ सुरु भएको छ। दोस्रो दिन आज (मंगलबार) कलाकार रमेशराज भट्टराईको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।
आज ठूली एकादशीको दिन समेत परेको र गण्डकी प्रदेश महोत्सवमा कलाकार
भट्टराईले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने महोत्सव मूल
समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष
अमृत भट्टचनले बताए।
भट्टराई आज अपराह्न ४ बजे महोत्सव स्थल पुगेर बहुला, भन साइँलालगायत ६ वटा भन्दा बढी चर्चित गीतहरु गाउने भट्टचनको भनाइ छ।
भट्टराईसँगै महोत्सवको सांस्कृतिक कार्यक्रममा उमदेवी खनाल र स्थानीय
कलाकारहरुको प्रस्तुती रहने मूल संयोजक भट्टचनले जानकारी दिए।
कात्तिक २६ देखि सुरु भएको महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुनेछ। तीन सय
वटा स्टल रहने महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा स्थानीय उत्पादन प्रवद्र्धनका
लागि निःशुल्करुपमा उपलब्ध गराइएको छ।
महोत्सवको मुख्य आकर्षणको रुपमा अन्डर वाटर फिस टनेल निर्माण गरिएको छ भने महोत्सवमा विभिन्न दैनिक उपभोग्य वस्तु, कपडा, अटो, सूचना र प्रविधि, सौन्दर्य सामग्रीलगायतको प्रदर्शनी
राखिएको छ।
त्यसैगरी, विभिन्न जातजातिको सांस्कृतिक घरसमेत राखिएका छन्।
महोत्सव प्रवेशको लागि टिकट दर रु ८० तथा विद्यार्थीका लागि रु ५० कायम गरिएको छ
भने ७० वर्षमाथीका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
