मङ्गल ग्रहमा पानी भेटिएको दाबी

Share:

काठमाडौँ। मङ्गल ग्रहमा पानी भेटिएको दाबी गरिएको छ। हालसालै नेचर डटकमा प्रकाशित वैज्ञानिक रिपोर्टका अनुसार चिनियाँ रोभर चुरोन (Zhuron) ले विशेष गुण भएको अवशेष फेला पारेको हो। उक्त ग्रहमा पानी रहेको प्रमाण फेला पारेको बताइएको छ।

मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा धेरै पहिले समुन्द्र रहेको सङ्केत गरेको छ। यो क्षेत्र मङ्गल ग्रहको उत्तरी गोलार्धमा पर्छ। वैज्ञानिकहरूले लेखेको शोधपत्र अनुसार त्यस क्षेत्रमा पानी बग्ने आकारका खाल्डाखुल्डी र अन्य आकृति छन्।

उनीहरूका अनुसार मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा पानीसँग सम्बन्धित अन्य विशेषताहरू पनि देखिएका छन्। यद्यपि पत्ता लागेका यी विभिन्न विशेषताले त्यहाँ पहिले महासागरको अस्तित्व भएको विषयलाई शत प्रतिशत प्रमाणित नगर्ने वैज्ञानिकले उल्लेख गरेका छन्।

यी संरचना पानी बिना पनि बन्न सक्ने उनीहरूको भनाई छ। केही मानिसहरूले यस अध्ययनका दाबीहरूमा आशङ्का व्यक्त गरेका छन्। तियानमेन वन स्पेसक्राफ्ट मिसन अन्तर्गत चीनले १५ मे २०२१ मा मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा चुरोन रोभर प्रक्षेपण गरेको थियो।

यो क्षेत्र समथर छ। त्यसैले सो क्षेत्रमा यान सुरक्षित रूपमा अवतरण हुने सम्भावना बढी हुन्छ। त्यसैले पनि वैज्ञानिक अनुसन्धानका लागि यो ठाउँ छनोट गरिएको हो । युटोपिया प्लानिटिया मङ्गल ग्रहको उत्तरी समथल क्षेत्रमा अवस्थित छ, जुन ठुलो युटोपिया इम्प्याक्ट बेसिन भित्र पर्छ।

यो सूर्यमण्डलमा सबैभन्दा ठुलो भनेर चिनिने इम्प्याक्ट क्रेटरहरू मध्येको एक हो। यसको क्षेत्रफल हजारौं किलोमिटरमा फैलिएको छ। र, यसको व्यास लगभग दुई हजार माइल रहेको अनुमान गरिएको छ। युटोपिया प्लानिटियाका केही भागको सतहमा विभिन्न आकारका ढाँचाहरू देखिन्छन्।

यो सम्भवत भूमिगत हिम पानीसँग सम्बन्धित हुन सक्ने अनुमान वैज्ञानिकहरूको छ। -एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: