
पोखरा। जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ। बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरीक्षण गरेका छन्।
जैमिनी नगरपालिका-१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ। जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताए।
“कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा लाग्नुपर्ने आवश्यकता देख्छु। स्थानीय तहसँग मिलेर जैमिनीधामको संरक्षण र प्रचारप्रसारमा काम गर्न प्रदेश सरकार तयार छ।” उनले भने।
वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको उक्त स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकार अगाडि बढ्ने उनले बताए।
“राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले गति पाएको छ। राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटकलाई जैमिनीधामको ऐतिहासिक महत्व बुझाउन र धार्मिक पर्यटनको बढ्वा दिन आवश्यक छ।”, उनले भने।
जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध सङ्घसंस्था र स्थानीयले जोड दिएको पाउँदा खुशी लागेको उनको भनाई छ।
मन्त्री थापाले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको उल्लेख गरे। यस विषयमा प्रदेश सरकार सचेत रहेको र सोहि अनुसारको कार्यक्रम बनाइने प्रतिबद्धता उनको छ।
पर्यटन प्रवर्द्धनका लागि स्थानीयमा देखिएको जागरुकताको मन्त्री थापाले प्रशंसा गरे। धार्मिक एवं पर्यटकीयस्थलको उपयोगका लागि सामूहिक प्रयास आवश्यक भएको हुँदा सोहि बमोजिम अगाडि बढ्न उनले अनुरोध गरे।
