
पोखरा। गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। प्रदेशभर १८ हजार तीन सय ३९ जनामा डेंगी संक्रमण पुष्टि भएको र ती मध्ये आठ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसवर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको थियो। त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको हो।मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेंगी सङ्क्रम पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेंगीको संक्रमण देखिएको छैन। गत जनवरीमा जम्मा ७० जनामा डेंगी देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेंगीबाट सङ्क्रमित भएका थिए।
अक्टुबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेंगी देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
