
काठमाडौँ। शुक्रबार बिहान दार्चुलामा भएको जिप दुर्घटनामा एक दम्पतीको बीचबाटोमै निधन भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका -५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र उनकी २५ बर्षीया श्रीमति शान्ति रावलको मृत्यु भएको छ। दुर्घटनामा परेर मृत्यु भएका ८ जनामध्ये उनीहरु दुईजना श्रीमान/श्रीमती रहेका प्रहरीले जनाएको छ।
रावल दम्पती जिप दुर्घटनामा अस्ताएका छन् भने उनीहरुका एकमात्रै नाबलक छोरा आठ वर्षीय सन्दीप रावल घाइते भएका छन्। घाइते भएका पाँच जना मध्ये सन्दीप पनि एक रहेका डाँगाले बताए। अहिले उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
जिप दुर्घटनामा आठ वर्षीय सन्दीपले आमा–बुवाको काख सदाका लागि गुमाएका छन् भने आफू घाइते भएर अस्पतालमा बेडमा पुगेका छन्। बिहीबार राति प्रसिद्ध मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेर्न र दर्शन गर्न पुगेका रावल दम्पती कहिले नआउने गरि अस्ताएपछि लेकगाउँ शोकमा डुबेको छ।
रावल दम्पतीका घरमा बुढेस कालका आमा/बुवा छन् भने विरेन्द्र रावलका एकजना भाइ छन्। शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत विरेन्द्रको दुर्घटना परेर निधन भएपछि उनको घरको साहरा ढलेको छ। एकै घरमा दुई जनाको निधन र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमा डुबेको डाँगाले बताए। अकल्पनीय दुर्घटनाले सिंगो गाउँलाई रुवाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आउँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ बजानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा शैल्यशिखर नगरपालिकाका मात्रै चार जनाको मृत्यु भएको छ।
आज भएको जिप दुर्घटनाले सिंगो शैल्यशिखर शोकमा डुबेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए। नगरपालिकाले आज शोक बिदा समेत दिएको छ।



