
पोखर। पोखरा महानगरपालिका वडा नम्बर २१ दोबिल्लाघाटमा १०८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ। देवघाट महेश्वरधाम, हरिहरगुफा एवं नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबीच मन्दिरको शिलान्यास गरेका हुन्।
दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो।
उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि बिश्राम स्थल, अन्त्यष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको थियो।
मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदीको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए। उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला सञ्चालन गर्न पनि सुझाव दिए।
मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद एवं उद्योगी कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले मन्दिर निर्माणमा ५ लाख रुपैयाँ सहयोग गर्ने बचन पनि दिएका छन्। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन्।
मन्दिर निर्माणका लागि पोखरा-२१ घर भई हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैँया आर्थिक सहयोग गरेका छन्। उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैयाँ दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए।
यस्तै अमेरिका बस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौँ घर भई हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए।
यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ।
कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले सञ्चालन गरेकी थिइन्। मन्दिर शिलान्यास पहिले सेती नदी पुलदेखी घाटसम्म बाजागाजासहित कलस यात्रा निकालिएको थियो।
कलय यात्रामा आमासमूह र स्थानीयहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सेती नदीको कटानबाट बचेको एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन्।
सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने भएकाले स्थानीयको सक्रियतामा मन्दिर निर्माण थालिएको अध्यक्ष रायमाझीले बताए।
उक्त क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए।मन्दिर, आवास भवन निर्माण गर्ने ठुलीएकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ।




