
पोखरा। कास्की जिल्ला अदालतको न्यायाधीशमा शंकर बहादुर राई आउने भएका छन्। न्याय परिषदको बिहीबार बसेको बैठकले १४ न्यायाधीशको सरूवा गर्ने क्रममा राईलाई कास्कीमा सरुवा गरिएको हो।
राई यसअघि शोलुखुम्बु जिल्ला अदालतमा कार्यरत थिए। यस्तै तनहुँ जिल्ला अदालतको न्यायाधीशमा राजेशकुमार कटुवाल आउने भएका छन्।
उनी यसअघि जुम्ला जिल्ला अदालतमा कार्यरत थिए। तनहुँका चन्द्रकुमार पोखरेललाई भने सोलुखुम्बु पुर्याइएको छ।
परिषदको बैठकले विभिन्न चार निर्णयसमेत गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकाम रहनेगरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको छ।
यस्तै उच्च अदालतका तीन जना न्यायाधीश र जिल्ला अदालतका ११ जना न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको छ।
उच्च अदालत जनकपुरमा रहेका किरणकुमार पोखरेल र तुलसीपुर बुटवल इजलासमा रशेका रेखा थापा पाण्डेको उच्च अदालत विराटनगर इलाम इजलासमा सरूवा भएको छ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन पनि सिफारिस गरेको छ। यस्तै ११ वटा विभिन्न जिल्लाका न्यायाधीशको पनि सरूवा भएको छ।
