रास्वपा कार्यवाहक सभापतिमा अर्याल नै किन ?

Share:

काठमाडौँ। पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बने डोलप्रसाद अर्याल।

सोमबार पार्टी मुख्यालय च:मति वनस्थली काठमाडौंमा बसेको सचिवालय बैठकले अर्याललाई आधिकारिक रूपमा कार्यवाहक सभापति बनाएको हो।

त्यसो त यसअघि पनि अघोषित रूपमा कार्यवाहक सभापतिको जिम्मेवारीमा अर्याल नै थिए। तर, सोमबार भने पार्टीले आधिकारिक रूपमै कार्यवाहक सभापति भनेर निर्णय गर्‍यो।

अर्याल पार्टीका उपसभापति हुन्। डा. स्वर्णिम वाग्ले पनि रास्वपाका अर्का उपसभापति हुन्। तर, कार्यवाहक भने अर्याल नै बने।

उसो त वाग्ले अर्यालभन्दा उमेरले जेठो छन्। तर, कार्यवाहक सभापतिमा भने अर्याल आए। रास्वपाको विधानमा कार्यवाहक सभापति बन्ने प्रक्रिया दुईवटा छ। पहिलो, उमेरका आधारमा जेठो र दोस्रो, सभापतिले तोकेको। यसरी हेर्दा उमेरका हिसाबले हो भने स्वत: वाग्ले हुनुपर्थ्यो तर, अर्याल बन।

यसरी बुझ्दा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी रवि लामिछानेले दिएका हुन्। जसै आइतबार अर्यालले रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमै लामो संवाद गरेका थिए।

विधानत: नै पाउने कुरामा वाग्लेले किन जोड गरेनन् ? उनी निकट एक नेताका अनुसार वाग्लेले रुचि राखेनन्। ‘उहाँले रुचि देखाउनुभएको छैन,’ ती नेताले भने, ‘डीपीजीले चाहना देखाउनुभयो, उहाँले पाउनुभयो।’

किन वाग्लेले रुचि नदेखाउनुभएको भन्ने जिज्ञासामा ती नेता भन्छन्, ‘नदेखाउने भन्ने कुरा छैन। अबको महाधिवेशनपछि सबै कुराहरू टुङ्गो लाग्दै जान्छ।’

सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा छन्। उनीविरुद्ध प्रहरीले झन्डै दुई महिना अनुसन्धान गरेर जिल्ला अदालत, कास्कीमा आइतबार मात्रै सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अभियोगपत्र दर्ता भएको छ।

यस सम्बन्धमा रवि लामिछानेको बयान मङ्गलबार हुने बताइएको छ। यो बयान र बहसपछि उनी धरौटीमा छुट्ने वा कारबास चलान हुने पक्कापक्की हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: