
काठमाडौँ । नेकपा (एमाले) ले पूर्व पार्टी उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको छ। आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकले उनको सदस्यता खोस्ने निर्णय गरेको हो। पार्टीको हितविपरीत अभिव्यक्ति दिँदै हिँडेको र तोकिएको जिम्मेवारी पूरा नगरेको कारण उनको सदस्यता खोसिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘कमरेड भीम रावल उहाँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनुभयो। उपाध्यक्षको निम्ति आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन। त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो। त्यो सल्लाहकारको जिम्मेवारी पनि उहाँले पूरा गर्नुभएन र अभिव्यक्तिहरु निरन्तर पार्टीलाई बलियो बनाउने भन्दापनि कमजोर बनाउने हिसाबले निरन्तर आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ,’ उनले भने।
त्यस्तै बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई छ महिना पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ। उनीहरुले पार्टी कार्यालय निर्माणका सन्दर्भमा अस्वभाविक अभिव्यक्ति दिएको र सो अभिव्यक्तिका सन्दर्भमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको उपमहासचिव ज्ञवालीले बताए।
