राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : पृथ्वी सुब्बा गुरुङ

Share:
पृथ्वी सुब्बा गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता सुदृढ गर्नका लागि सामाजिक सञ्जाल विधेयक, २०८१ प्रस्तुत गरिएको बताएका छन्।

आज बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका अवसरमा उनले लोकतन्त्रको मूलभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको अभिव्यक्ति सिद्धान्तलाई आत्मसात गर्दै थप व्यवहारिक रूपमा प्रभावकारी बनाउन उक्त विधेयक ल्याइएको बताए ।

‘विधेयक संसद्मा पेस भएको छ, त्यहाँ आवश्यक छलफल हुने नै छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन विधेयक ल्याइएको हो ।’

सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै उनले नियन्त्रण गर्ने उद्देश्य नभएको स्पष्ट पारे । ‘मौलिक हकका रूपमा रहेको सूचनाको हक कुण्ठित हुने विषयमा सरकार सचेत छ, जनताको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी विधेयक पेस गरिएको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
Share: