
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।अन्नपूर्ण गाउँपालिका ४ सल्यान चौतारीमा बुधबार शिविर आयोजना भएको हो।
अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख विकल अधिकारीले बताए। उनले आगामी दिनहरुमा शिक्षालयले किसान लक्षित कार्यक्रम आयोजना गरिने उल्लेख गरे।
शिविरमा पशुपक्षिको स्वास्थ्य परिक्षण, औषधि वितरण, गोबर र थुनेलो परिक्षण,रेबिज बिरुद्धको खोप, पशु बन्ध्याकरण लगाएतका सेवा प्रदान गरिएको शिक्षालयका प्रशिक्षक आशिष अधिकारीले जानकारी दिए।
शिविरबाट १५ सय पशुपंक्षी र २ सय किसान लाभान्बित भएको पशुप्रशिक्षण सहायक प्रेम अधिकारीले बताए। कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकामा आयोजना गरिएको पशु स्वास्थ्य शिविरले किसानलाई सहयोग पुगेको बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशिक्षकद्धोय आशिष बस्यौला, पुरुषोत्तम काफ्ले, वडा ४ का वडा अध्यक्षय आइन्दल गुरुङ लगाएतले भनाई राखेका थिए।
कार्यक्रममा किसानहरुको लागि काउली,बन्दा र काक्रोको बेर्ना, बिउ समेत वितरण गरिएको बाली बिज्ञान प्रशिक्षक कैलाश थापाले उल्लेख गरे।
‘कृषि, पर्यटन, उर्जा र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नाराका साथ २०७६ सालमा स्थापना भएको शिक्षालयमा सिटिईभिटिबाट सम्बन्धन प्राप्त गरि कृषि शिक्षा विषयमा अध्ययन हुँदै आएको छ।
