
१७ गते रातको ८ बज्नै लागेको थियो । हरेक दिनझै सुरेन्द्र विष्ट शनिबार दिनभर गाडी चलाएर घर फर्के । उनको घर कटौजपानीमा छ माल्लेक चौसिला बजार पुग्न घरबाट कम्तीमा आधा घण्टा लाग्छ। चौसिला बजारमा उनी गाडी राखेर त्यही बस्ने गर्थे । नजिकै घर भएपनि उनको बसाइँ त्यही बजारमा हुन्थ्यो । घरमा उनकी श्रीमती, भाउजु र बुवा थिए ।
उनकी आमा माइत गएकी थिइन् । शनिबार पनि उनी दिनभर आफ्नो काममा व्यस्त भए । कालागाउँबाट सिल्लेगडा, सिल्लेगडाबाट सतबाँझ हुँदै सदरमुकाम गोठालापानीसम्म गाडी चलाउने उनको दैनिक रुट थियो । दिनभर यात्रु ओसारपसार गर्दै साँझ घर फर्के । उनी गाडी रोकेर खाना खान होटल पसे । खाना खाने होटल थियो महेश विष्टको ।
जुन बजार नजिकै रहेको रौलेश्वर माविको छेवमै छ । उनीसँगै खाना खाने अरु तीनरचार साथीहरू पनि थिए । टेबुलको छेउमा थिए दशरथ विष्ट । सुरेन्द्र बिचमा बसेका थिए भने छेउमा अर्का साथी थिए । टेबलमा बसेर खानामा हात हालेकामात्रै के थिए होटलको माथिबाट साइड साइड भन्दै आवाज आयो । सुरेन्द्रसँगै बसेका साथीहरू भात छोडेर हतार-हतार उठे । सुरेन्द्रलाई पनि तान्दै गर्दा उनलाई गोली लागिसकेको थियो ।
गोलीको ठूलो आवाज सुन्दा हो-हल्ला मच्चियो । सुरेन्द्र दशरथको हातबाट चिप्ले । उनको पेटबाट रगतको खोला बग्यो । मलाई बचाउ बचाउ भन्दै सुरेन्द्र छटपटाउन थाले । हातै समाएर साइड लगाउन खोजेका दशरथ टोलाए । अरु साथीहरू पनि आँत्तिए । पसलका सहुजी र बजारमा रहेका अरु मान्छे बाहिर निस्के । रगतमा छटपटाइरहेका सुरेन्द्रलाई अस्पताल लैजान सुरु गरे । कसैले आफन्तलाई खबर गरे । कसैले प्रहरीलाई खबर गरे ।
यो घटना हो शनिबार रातीको । घटना भएको स्थान थियो बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ चौसिला । शनिबार राति भएको घटनाबारे दशरथले भने, ‘म अहिलेसम्म राम्रोसँग बोल्न सकिरहेको छैन, हात खुट्टा कापिरहेको छ, सँगै खान बसेका सुरेन्द्र कहिल्यै नउठ्ने गरी गइसकेका छन् ।’ हामीसँग कुरा गर्दा पनि उनको आवाज डर लाग्दो थियो ।
घटानाबारे सविस्तारमा सोध्यौँ । ‘गोली लाग्नेवित्तिकै सुरेन्द्र बचाउ/बचाउ भनेर छटपटीरहेका थिए, हामीले हेर्न बाहेक गर्न केही सकेनौँ, छटपटाइरहेका उनी केहीबेरपछि बोहोस भए,’ घटना सुनाउँदै दशरथले भने । त्यसपछि जीपमा राखेर सुरेन्द्रलाई अस्पताल लगियो ।
अस्पताल पुर्याउन नपाउँदै गयो प्राण
गोली लागेर घाइते भएका सुरेन्द्रको अस्पताल पुर्याउन नपाउँदै मृत्यु भयो । दशरथका अनुसार घाइते सुरेन्द्रलाई कालागाउँबाट सदरमुकाम गोठालापानी लगिँदै थियो । घटना भएको ठाउँबाट अस्पताल भएको ठाउँ गोठालापानी पुग्न करिब २ घण्टा लाग्छ । त्यसमा पनि एक घण्टा बढी कच्ची बाटो छ । अस्पताल टाढा हुँदा पनि समयमै पुर्याउन सकिएन । एक घण्टा बढीको कच्चीबाट पार गर्दै सुरेन्द्रलाई सतबाँझ पुर्याएको थियो । तर, उनको स्वास अस्पतालसम्म पुग्न पाएन । ‘कास नजिकै अस्पताल भएको भए, शरीरबाट बगेको रगत रोक्नमात्र सकेपनि पनि उसको ज्यान बाँच्थ्यो होला, हामीले प्रयास गर्दापनि अस्पताल पुर्याउनै सकिएन,’ स्थानीय प्रकाश विष्टले भने ।
जीप व्यवसायी थिए
सुरेन्द्र एक जीप व्यवसायी हुन् । उनले एक वर्ष अगाडि मात्र जीप किनेका थिए । त्यो भन्दा पहिले उनी अरुको गाडी चलाउँथे । दिनभर गाडी चलाएर किनेको पैसाले घर व्यवहार चलाउनु पथ्र्यो । उनका दाइ नविन विष्ट नेपाल प्रहरीमा जागिर गर्छन् । उनी आमाबुवा भाउजु र श्रीमतीसँग घरमा बस्थे ।
के थियो विवाद ?
सुरेन्दमाथि गोली प्रहार गर्ने व्यक्ति हुन् कर्ण विष्ट । जो उनको नजिकैको दाइ नाता पर्छन् । कर्णले तीन चार वर्ष पहिले सुरेन्द्रबाट ४० हजार रुपैयाँ ऋण लिएका थिए । चार वर्ष भइसक्दा पनि कर्णले पैसा फिर्ता दिएनन् । सुरेन्द्रले कर्णलाई आफुलाई पैसा आवश्यक परेको भन्दै पटक/पटक माग्न थाले । कर्णले विभिन्न बाहनामा टार्दै आएका थिए । यही विषयले उनीहरूविच मनमुटाव बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।
यही विषयलाई लिएर शनिबार फेरि विवाद भएको थियो । दिउँसो विवाद हुँदा सुरेन्द्रले कर्णको गालामा दुइ झापड हानेका थिए । त्यहीबेला कर्णले सुरेन्द्रलाई मार्ने धम्की दिएका थिए । यो घटना पछि सुरेन्द्र आफ्नै काममा लागे । कर्णले त्यही कुरामा उनलाई मार्ने योजना बनाइसकेका रहेछन् । दिउँसो कर्णाले रक्सी खाएको स्थानीयहरूको भनाइ छ । सुरेन्द्र साँझ आइसकेपछि कर्णसँग एकछिन फेरि झगडा पर्यो । सुरेन्द्र झगडा भएको ठाउँबाट अली पररहेको होटलमा खाना खान आए । कर्ण घरमा गएर बन्दुक लिएर आइसकेका रहेछन् यो कुरा कसैलाई थाहै भएन ।
सुरेन्द्र खाना खाइरहेको बेला स्कुले कुनामा लुकेर कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रत्यक्ष दर्शीहरूले बताएका छन् । कालागाउँ घटनाले पुरै गाउँमा त्रास फैलियो । एकातिर सुरेन्द्रको घरपरिवार उजाड भयो भने अर्कोतिर अभियुक्त बन्दुकसहित भागे । उनले भाग्ने बेला केहीलाई यसैगरी मार्छु भनेर धम्क्याएर गएपछि गाउँमा झन् त्रास फैलिएको थियो ।
बैतडी प्रहरीको सफल ‘एक्सन’
यसअघि वन मुद्दामा समेत प्रहरीको घेरा तोडेर कर्ण भागेकाले उनलाई पक्राउ गर्न प्रहरीले सक्तैनन् कि भन्ने कतिपयले अड्कल गरिरहेका थिए । तर यो घटनामा बैतडी प्रहरीले सफलता हात पारेको छ । घटनाको खबर पाउने बित्तिकै प्रहरीले कर्णलाई पक्राउ गर्नका लागि हतियारसहितको टोली परिचालन गरेको थियो । घटना सम्वेदनशील भएकाले सादा पोशाक र हतियारसहितका प्रहरी परिचालन गरेर अभियुक्तलाई पक्राउ गर्न सफल भइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुले बताए ।
घटना भएकै दिनदेखि प्रहरीले कर्णको खोजी सुरु गरिसकेकको थियो । घटनास्थल वरीपरीका जंगलमा हतियारसहित खटिएको प्रहरीले कर्णलाई फेला पार्न सकेको थिएन् । घटना भएको चारदिनपछि अभियुक्तले प्रयोग गरेको मोबाइलको लोकेशन दार्चुलाको दत्तुमा देखिएपछि बैतडी प्रहरीले सादा पोशाकका प्रहरी उक्त क्षेत्रमा खटाएको थियो ।
सोही लोकेशनका आधारमा दार्चुला प्रहरीको सहयोगमा शुक्रबार दिउँसो नेपाल-भारत सीमा नाका दार्चुलाको दत्तुबाट अभियुक्त बिष्टलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक बडुले बताए । उनले भने ,‘हामीले कर्णको खोजीलाई तीव्र बनाएका थियौं । जसरी पनि उनलाई पक्राउ गर्ने हाम्रो उद्देश्य थियो । त्यो उद्देश्यमा हामी सफल भयौं।’
गोली प्रहार गर्नुअघि कर्णले दाईलाई कल गरेका थिए प्रवक्ता तथा प्रहरी निरीक्षक बडुका अनुसार शुक्रबार राती नै कर्णलाई जिल्ला प्रहरी कार्यालय बैतडी पुर्याइएको छ । कर्ण अहिले बैतडी हिरासतमा छन् । अब अनुसन्धानको कामअघि बढ्ने प्रहरी निरीक्षक बडुको भनाई छ। जिल्ला प्रहरी कार्यालय बैतडी र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त टोलीले कर्णलाई पक्राउ गरेको हो।
कर्णले गोली प्रहार गर्नुअघि आफ्ना दाजुलाई करिब चार मिनेट कल गरेका थिए
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कर्णले सुरेन्द्रलाई योजना बनाएर गोली हानी हत्या गरेको बुझिएको छ। कर्णले गोली प्रहार गर्नुअघि आफ्ना दाजुलाई करिब चार मिनेट कल गरेको देखिएको जनाइएको छ, भने गोली हानी हत्या गरी सकेपछि दोगडाकेदार गाउँपालिका-८ का पूर्ववडाध्यक्ष भक्त बहादुर विष्टलाई कल गरेको समेत देखिएको छ । भक्तबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन्। भक्तबहादुरसँग ११ सेकेण्ड मात्र कर्णले कल गरेको देखाइएको छ ।
कर्णले गोली हानेर सुरेन्द्रको हत्या गरेपछि जमाडी नदी हुँदै दार्चुलाबाट भारत छिरेको बताइएको छ। कर्णले खानेकुरा बोकेर गएको समेत जनाइएको छ। उनीसँग बिस्कुट र चाउचाउ भेटिएको छ। लेनदेनका बिषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए।
कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो
कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए। कर्ण गाउँमा स्याल उपनामले परिचित थिए। बन्दुक समातेर जंगली जनावरको सिकार गर्ने कर्ण गाउँमा आफुलाई चलाख देखाउने बानीका कारण स्याल उपनामले परिचित रहेका उनका आफन्तहरु बताउँछन्। पक्राउ परेका कर्णमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । आइतबार जिल्ला अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बडुले बताए ।
बन्दुक गाउँ नजिकैको खोलामा फालेका थिए
अभियुक्त बिष्टले प्रयोग गरेको भरुवा बन्दुक गाउँ नजिकैको खोलामा राखेको बयान दिएकाले सोही अनुसार उक्त बन्दुकको खोजी भइरहेको छ । जीप व्यवसायी सुरेन्द्रको हत्यापछि उनको परिवार विचल्लीमा परेको छ। सात महिना अघिमात्रै विवाह बन्धनमा बाँधिएका सुरेन्द्रको हत्यापछि उनकी श्रीमती र घरपरिवारलाई निकै समस्या भएको मृतकका दाजु अम्मर विष्टले बताए। अम्मर प्रहरीसँगै खोजतलासमा गएका थिए। उनी हाल काठमाडौँ प्रहरी वृतमा नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवान हुन्।




